Skip to content
हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान
All news

Newsसमाचार

22 Nov 2026

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी निर्वाचित

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी निर्वाचित

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी निर्वाचित · 1 / 1

Tap the picture to see it full size.

काठमाडौँ,६ मंसिर । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA) को सातौँ महाधिवेशनबाट राहुल रेग्मी अध्यक्षमा निर्वाचित हुनुभएको छ। काठमाडौँको धुम्बाराहीमा मंसिर ५ गते सम्पन्न महाधिवेशनले रेग्मीको अध्यक्षतामा सन् २०२६–२०२८ कार्यकालका लागि ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नेपाल चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनले नौ पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. मनिता राजकर्णिकार र उत्तम अधिकारी, महासचिवमा तेज कटुवाल, सचिवमा रामराज ओली र मुक्तिराम पोख्रेल तथा कोषाध्यक्षमा सुनिल राज श्रेष्ठ चयन हुनुभएको छ। निवर्तमान अध्यक्षमा अजय सत्याल रहनुभएको छ।

सन् २०१४ मा स्थापना भएको संघले ‘जहाँ नेपाली, त्यहाँ रक्तदान’ भन्ने मूल नाराका साथ विश्वभर रहेका नेपाली रक्तदातालाई एउटै सञ्जालमा आबद्ध गर्दै रक्तदान अभियानलाई संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले काम गर्दै आएको छ। हालसम्म २१ देशमा संघका राष्ट्रिय सञ्जाल स्थापना भइसकेका छन्।

महाधिवेशनमा २२५ पटक रक्तदान गरिसक्नुभएका संस्थाका प्रमुख संरक्षक अजय सत्याललाई मानव जीवन रक्षामा पुर्‍याउनुभएको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो।

महाधिवेशनमा सहभागी वक्ताहरूले रक्तदान अभियानलाई प्रभावकारी बनाउन रक्तदाता परिचालनसँगै नेपालको समग्र रक्तसञ्चार प्रणालीको सुधार, रगतको उचित व्यवस्थापन तथा आवश्यक परेको समयमा सहज रूपमा रगत उपलब्ध गराउने प्रणाली विकासमा समेत संस्थाले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित कार्यसमितिले आगामी छ महिनाभित्र थप चार देशमा राष्ट्रिय सञ्जाल विस्तार गर्ने योजना अघि सारेको छ। साथै, आपत्कालीन रक्त सहयोग, स्वयंसेवक सञ्जाल विकास, युवा सहभागिता वृद्धि, अन्तर्राष्ट्रिय सहकार्य र डिजिटल सञ्चार प्रणालीलाई प्राथमिकतामा राखेको छ।

महाधिवेशनमा नेपाल रेडक्रस सोसाइटी, गैरआवासीय नेपाली संघ, स्टार हस्पिटल, ह्याम्स हस्पिटललगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।