Skip to content
हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान
All news

Newsसमाचार

26 Nov 2026

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति निर्वाचित

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति निर्वाचित

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति निर्वाचित · 1 / 1

Tap the picture to see it full size.

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA) को सातौँ महाधिवेशन काठमाडौँमा सम्पन्न भएको छ। महाधिवेशनले राहुल रेग्मीको अध्यक्षतामा सन् २०२६–२०२८ कार्यकालका लागि ३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

नेपाल चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्रीको प्रमुख आतिथ्यतामा मंसिर ५ गते शनिबार काठमाडौँको धुम्बाराहीमा आयोजित महाधिवेशनले नौ पदाधिकारीसहितको नयाँ नेतृत्व चयन गरेको हो।

सन् २०१४ मा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले ‘जहाँ नेपाली, त्यहाँ रक्तदान’ भन्ने मूल नाराका साथ विश्वभर छरिएर रहेका नेपाली रक्तदाताहरूलाई एउटै सञ्जालमा आबद्ध गर्दै रक्तदान अभियानलाई संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ काम गर्दै आएको छ। संस्थाले विश्वका विभिन्न देशमा रहेका नेपाली रक्तदाताहरूको योगदानलाई पहिचान र प्रोत्साहन गर्दै मानवीय सेवा, आपसी एकता तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गरिरहेको छ।

नेपाली रक्तदाताहरूको अन्तरदेशीय सञ्जाल विस्तार गर्ने अभियानअन्तर्गत हालसम्म २१ देशमा राष्ट्रिय सञ्जाल स्थापना भइसकेका छन्। सातौँ महाधिवेशनमा विश्वका विभिन्न देशबाट आएका रक्तदाता प्रतिनिधिहरूको प्रत्यक्ष तथा अनलाइन माध्यमबाट उल्लेखनीय सहभागिता रहेको थियो। संस्थाले प्रत्येक दुई वर्षमा महाधिवेशन आयोजना गर्दै आएको छ।

महाधिवेशनमा २२५ पटक रक्तदान गरिसक्नुभएका संस्थाका प्रमुख संरक्षक अजय सत्यालको विशिष्ट आतिथ्यता रहेको थियो। उहाँले रक्तदानमार्फत मानव जीवन रक्षामा पुर्‍याउनुभएको दीर्घकालीन योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी अतिथिहरूले रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन संस्थाले आफ्नो भूमिका रक्तदाता परिचालनमा मात्र सीमित नराखी नेपालको समग्र रक्तसञ्चार प्रणालीको सुधार, स्वयंसेवी रक्तदाताबाट संकलित रगतको उचित व्यवस्थापन तथा आवश्यक परेको समयमा सहज रगत उपलब्ध गराउने प्रणाली विकासमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए।

यसका लागि नेपाल सरकार, स्वास्थ्य संस्था, रक्तसञ्चार केन्द्र तथा सम्बन्धित सरोकारवालासँग सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए। विशेषगरी स्वयंसेवी रक्तदाताबाट संकलित रगतको व्यवस्थापन तथा वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतासमेत औँल्याइएको थियो।

बिनोदप्रसाद भट्टराईको संयोजकत्वमा गठित निर्वाचन समितिले सम्पन्न गराएको निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि निम्न पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमिति (२०२६–२०२८) पदाधिकारीहरू

• अध्यक्ष: राहुल रेग्मी – नेपाल

• निबर्तमान अध्यक्ष: अजय सत्याल – अमेरिका

• उपाध्यक्ष: डा. मनिता राजकर्णिकार – नेपाल

• उपाध्यक्ष: उत्तम अधिकारी – नेपाल

• महासचिव: तेज कटुवाल – कतार

• सचिव: रामराज ओली – न्युजिल्यान्ड

• सचिव: मुक्तिराम पोख्रेल – अस्ट्रेलिया

• कोषाध्यक्ष: सुनिल राज श्रेष्ठ – यूएई

कार्यसमिति सदस्यहरू

१. विवेक पाण्डेय – क्यानडा

२. विकास सुवेदी – घाना

३. कमान सिंह खत्री – सेशेल्स

४. वीरेन्द्र श्रेष्ठ – डेनमार्क

५. सन्तोष क्षेत्री – कतार

६. गुलाम नबी मन्सुर – कुवेत

७. भरत रिजाल – नाइजेरिया

८. रमेश कँडेल – युगान्डा

९. भीमराज लामा – माल्टा

१०. दीपक राउत – यूएई

११. रासना पलान्चोके – अस्ट्रेलिया

१२. अञ्जन मिश्र – पोर्चुगल

१३. विमल नेपाल – अमेरिका

१४. महेशराज रेग्मी – भारत

बाँकी पदहरूमा सदस्य मनोनयन गर्ने अधिकार महाधिवेशनले नवनिर्वाचित कार्यसमितिलाई प्रदान गरेको छ।

नवनिर्वाचित कार्यसमितिले संस्थाको अन्तर्राष्ट्रिय सञ्जाललाई थप विस्तार र सुदृढ बनाउने लक्ष्यसहित आगामी छ महिनाभित्र थप चार देशमा राष्ट्रिय सञ्जाल गठन गर्ने योजना अघि सारेको छ। साथै, विश्वभर रहेका नेपाली रक्तदाताहरूले मानव जीवन रक्षाका लागि पुर्‍याउँदै आएको योगदानलाई व्यापक रूपमा प्रचारप्रसार गर्ने तथा रक्तदान अभियानमा नयाँ पुस्ताको सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

आगामी कार्यकालका लागि संस्थागत सुशासन र संरचनागत सुदृढीकरण, सदस्यता तथा अन्तरदेशीय आबद्धता विस्तार, अन्तर्राष्ट्रिय रक्तदान अभियानको प्रवर्द्धन, आपत्कालीन रक्त सहयोग तथा स्वयंसेवक सञ्जालको विकास, जनचेतना अभिवृद्धि, युवा सहभागिता, रणनीतिक साझेदारी, आर्थिक पारदर्शिता तथा डिजिटल सञ्चार प्रणालीको विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्टार हस्पिटल, ह्याम्स हस्पिटल, गैरआवासीय नेपाली संघ, नेपाल रेडक्रस सोसाइटी लगायत रक्तदान तथा स्वास्थ्य सेवाका क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम महासचिव उत्तम अधिकारीले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष डा. मनिता राजकर्णिकारले स्वागत मन्तव्य राख्नुभएको थियो। महाधिवेशनका क्रममा संस्थाको विगत दुई वर्षको गतिविधि, उपलब्धि तथा प्रगतिसम्बन्धी प्रतिवेदन, आर्थिक प्रतिवेदन र समग्र संस्थागत समीक्षा प्रस्तुत गरिएको थियो।

नयाँ नेतृत्व चयनसँगै अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले विश्वभर रहेका नेपाली रक्तदाताहरूलाई एउटै सञ्जालमा आबद्ध गर्दै रक्तदान अभियानलाई अझ व्यापक, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिइएको छ। ‘जहाँ नेपाली, त्यहाँ रक्तदान’ भन्ने मूल अभियानलाई थप सशक्त बनाउँदै अन्तर्राष्ट्रिय सहकार्य, स्वयंसेवी भावना र मानवीय सेवामार्फत मानव जीवन रक्षामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

महाधिवेशनलाई थप आकर्षक र उत्सवमय बनाउन राष्ट्रिय कलाकारहरूद्वारा विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि, अतिथि, समाजसेवी, स्वास्थ्यकर्मी तथा रक्तदान अभियानमा आबद्ध व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विभिन्न संघसंस्था तथा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता, सहयोग र सद्भावले महाधिवेशनलाई भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्‍याएको थियो।