Newsसमाचार
26 Nov 2026अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी
Tap the picture to see it full size.
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (आइएनबीडीए) को सातौँ महाधिवेशनले राहुल रेग्मीको अध्यक्षतामा सन् २०२६–२०२८ कार्यकालका लागि ३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
शनिबार काठमाडौंको धुम्बाराहीमा नेपाल चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनले नौ पदाधिकारीसहितको नयाँ नेतृत्व चयन गरेको हो।
विनोदप्रसाद भट्टराईको संयोजकत्वमा गठित निर्वाचन समितिले सम्पन्न गराएको निर्वाचनबाट निवर्तमान अध्यक्षमा अमेरिकाका अजय सत्याल, उपाध्यक्षद्वयमा नेपालका डा. मनिता राजकर्णिकार र उत्तम अधिकारी तथा महासचिवमा कतारका तेज कटुवाल निर्वाचित भएका छन्।
त्यस्तै, सचिवद्वयमा न्युजिल्यान्डका रामराज ओली र अस्ट्रेलियाका मुक्तिराम पोख्रेल तथा कोषाध्यक्षमा यूएईका सुनिल राज श्रेष्ठ चयन भएका छन्। महाधिवेशनले विभिन्न १४ देशका प्रतिनिधिहरूलाई कार्यसमिति सदस्यमा निर्वाचित गर्दै बाँकी रिक्त पदमा सदस्य मनोनयन गर्ने अधिकार नवनिर्वाचित कार्यसमितिलाई प्रदान गरेको छ।
सन् २०१४ मा ‘जहाँ नेपाली, त्यहाँ रक्तदान’ भन्ने मूल नाराका साथ स्थापना भएको संघको हालसम्म २१ देशमा राष्ट्रिय सञ्जाल विस्तार भइसकेको छ। प्रत्येक दुई वर्षमा आयोजना हुने महाधिवेशनका अवसरमा २२५ पटक रक्तदान गरिसकेका संस्थाका प्रमुख संरक्षक अजय सत्याललाई विशेष सम्मान गरिएको थियो। कार्यक्रममा अतिथिहरूले संस्थाले रक्तदाता परिचालनसँगै नेपालको समग्र रक्तसञ्चार प्रणालीको सुधार र संकलित रगतको उचित व्यवस्थापनमा सरकार तथा सरोकारवाला निकायसँग समन्वय गर्नुपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित कार्यसमितिले आगामी छ महिनाभित्र थप चार देशमा सञ्जाल विस्तार गर्ने, युवा सहभागिता बढाउने, आपत्कालीन रक्त सहयोग सञ्जाल विकास गर्ने र डिजिटल सञ्चार प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको छ। महाधिवेशनमा स्टार हस्पिटल, ह्याम्स हस्पिटल, गैरआवासीय नेपाली संघ, नेपाल रेडक्रस सोसाइटी लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।
