रक्तदानमा विशिष्ट योगदान पुर्याएका सँस्था र व्यक्ति सम्मानित हुँदै

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ तथा नेपाली रक्तदाता संघले रक्तदानमा विशिष्ट योगदान पुर्याएका सँस्था र व्यक्तिलाई संयुक्त रुपमा सम्मान गर्ने भएका छन्׀ बैशाख ३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सभाहलमा आयोजना हुने उक्त सम्मान कार्यक्रममा रक्तदानको क्षेत्रमा उदाहरणीय कार्य गरेका २० भन्दा बढी सँस्था तथा व्यक्तिहरु सम्मानित हुने आयोजक सँस्थाले जनाएको छ׀ विश्वभर छरिएर रहेका नेपालीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा रक्तदान कार्यमा सहभागी गराउन बिभिन्न अभियान तथा कार्यक्रम मार्फत रक्तदानसंग सम्बन्धित सामाजिक कार्यमा अभिप्रेरित गर्दै आइरहेको ‘अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष तथा १६० पटक भन्दा बढी रक्तदान गरिसकेका रक्तदान अभियन्ता अजय सत्याल उक्त कार्यक्रमका लागि अमेरिकाबाट काठमाडौं आइपुगेका छन्׀ युवा पुस्तालाई रक्तदानमा आकर्षित गराउन र नियमित रक्तदान अभियान संचालन गर्न स्थापित सँस्था ‘नेपाली रक्तदाता संघ’ को संयोजनमा हुन गइरहेको उक्त कार्यक्रममा मानवअधिकार कर्मी एवं कुशल चिकित्सक डा. गौरीशंकर लाल दास प्रमुख अतिथि रहनेछन्׀ कार्यक्रममा बहुचर्चित माथेमा आयोगका संयोजक केदारभक्त माथेमा, स्वास्थ्य तथा जनसंख्या सचिव लगायत प्रतिष्ठित व्यक्तिहरुको बिशेष उपस्थिति रहने संघका अध्यक्ष निरन्जन पौडेलले जानकारी गराएका छन्׀ नेपाली रक्तदानका क्षेत्रमा सहकार्यमा रहेका बिभिन्न संघ सँस्था समेत उक्त कार्यक्रममा कदर पत्रद्वारा सम्मानित हुने आयोजक समितिका सचिव राहुल रेग्मीले जनाएका छन्׀ नियमित रुपमा रक्तदान अभियान सञ्चालन गरिरहेका सँस्था तथा व्यक्तिहरुको योगदानको कदर गर्नसके मात्रै उनीहरुको मनोवल र आत्मविश्वास उच्च रहनुका साथै रक्तदान जस्तो उच्च परोपकारी कार्यमा आकर्षण समेत बढ्ने बिश्वास सहित सम्मान कार्यक्रम आयोजना गरिएको बताइएको छ׀