भारतमा नेपाली रक्तदाता संघ गठन

काठमाडौं । भारतका विभिन्न राज्यबाट प्रतिनिधित्व गर्दै सहभागी भएका नेपालीहरुको उपस्थितिमा सम्पन्न भएको भर्चुअल भेलाले लक्ष्मणप्रसाद पाण्डेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा भारतका विभिन्न राज्यमा रहेका नेपाली नागरिकहरुलाई रगतको कमी भएर अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ नेपाली रक्तदाता संघ भारतको गठन भएको हो । नवगठित समितिको उपाध्यक्षमा गङ्गाप्रसाद भट्टराई, सचिबमा प्रतिक तिमिल्सिना, सह–सचिबमा नविन जोशी, कोषाध्यक्षमा जनक ढकाल, मिडिया संयोजक पुष्पराज रोकाया र सदस्यहरुमा दुर्गा आचार्य, जीवन कुमार बिसी, रूप ठकुल्ला, कमला थापा, लोकेश ढुङ्गाना, कुशेश्वर सिंह र कविता बुढा निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय सत्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा, सचिब राहुल रेग्मी, केन्द्रिय सदस्य केदार तिमील्सिना र प्रशान्त उप्रेत्री लगायत भारतमा रहेका नेपाली नागरिकहरुको लागि लामो समयदेखि सामाजिक सेवा गर्दै आएका नागेन्द्र प्रसाद जोशी र अर्जुन बोगटीकोसमेत उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्षसमेत रहेका प्रमुख अतिथि अजय सत्यालले विश्वभर छरिएर रहेका नेपाली रक्तदाताहरुलाई संगठित गर्दै नेपालको हितमा संगठनले कार्य गरिरहेको जानकारी दिए । भर्चुअल प्रणाली मार्फत सम्पन्न भएको उक्त कार्यक्रमको संचालन केन्द्रिय सचिव राहुल रेग्मीले गरेका थिए । कार्यक्रममा उपस्थित सम्पुर्ण सहभागिहरुले ठूलो संख्यामा भारतमा रहेका नेपाली नागरिकहरुलाई रक्तदानको क्षेत्रमा सेवा गर्नको लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता ब्यक्त गरेका थिए भने कार्यक्रमको अन्तिममा सम्पुर्ण सहभागिले नव गठित कार्यसमितिका पदाधिकारिहरुलाई विभिन्न किसिमका सुझाव सहित सफल कार्यकालका लागि शुभकामना समेत ब्यक्त गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (आईएनबीडीए) सन् २०१४ मा अमेरिकाको कानुन अनुसार बिधिवत रुपमा दर्ता भई स्थापना गरिएको एक गैर धार्मिक, गैर राजनीतिक र गैर नाफामुखी संस्था हो । यस संस्थाले विश्व का २५ भन्दा बढी देशहरूमा आफ्नो संजाल फैलाएको छ भने अन्य मुलुकहरुमा पनि शाखा गठन गर्ने प्रकृया जारी रहेको छ । नेपाली रक्तदाता संघ भारतले पनि अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको शाखाको रुपमा कार्य गर्नेछ । यस संस्थाको मुख्य उद्देश्य भनेको विश्वमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न सहयोग र उत्प्रेरित गर्दै नियमित रुपमा रक्तदानको व्यवस्था गर्न स्थानीय समितिहरू स्थापना गरेर सहयोग पुर्याउने र रक्तदानको महत्वबारे चेतना जगाउँदै नियमित रक्तदाताहरुको संख्या बढाउन सहयोग गर्ने साथै नेपाली रक्तदाताहरु र रक्तदान कार्यक्रमलाई सहयोग पुर्याउने विभिन्न एजेन्सीहरुको सहयोगमा नेपाली समुदाय स्तरमा सेवा गर्ने हो । नेपालमा हाल रहेको शोधभर्ना रक्तदान प्रवृत्तिलाई पूर्ण स्वयंसेवी रक्तदानमा परिणत गर्दै नेपाललाई रगत अभाव मुक्त राष्ट्र बनाउने बृहत् उद्देश्य लिई स्वयंमसेवि रक्तदान अभियानमा समर्पित व्यक्ति तथा संस्थाहरुसंग एकबद्ध हुँदै रक्तदान सम्बन्धी उत्प्रेरणा, बहस पैरवी लगायत बिशेषतः रक्तदान कार्यक्रम संचालनमा सहकार्य गर्ने गराउने उद्देश्य यस संस्थाले लिएको छ ।