Newsसमाचार
26 Oct 2026एनबीडीए अष्ट्रेलियाको ‘पिंक अक्टोबर’ रक्तदान अभियान सम्पन्न, सिड्नीमा दुई विशेष कार्यक्रम
Tap the picture to see it full size.
सिड्नी, अष्ट्रेलिया। मानवीय सेवा, सामाजिक उत्तरदायित्व तथा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलिया (एनबीडीए अष्ट्रेलिया) द्वारा सञ्चालित ‘पिंक अक्टोबर’ रक्तदान अभियान–२०२६ अन्तर्गत सिड्नीमा दुई विशेष कार्यक्रम सम्पन्न भएका छन्।
स्तन क्यान्सर सचेतना महिनाको अवसरमा अक्टोबर १० र १७, २०२६ मा आयोजित कार्यक्रम लिभरपुलस्थित डोनेसन सेन्टर्स एन्ड च्यारिटिज तथा सिड्नी टाउन हल नजिकैको ४८३ जर्ज स्ट्रिटमा सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रम बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएका थिए।
‘कसैको आशा बनौँ, रक्तदान गरौँ, जीवन बचाऔँ’ तथा ‘Donate Blood, Support Lives’ भन्ने मूल सन्देशसहित सञ्चालन गरिएको अभियानले रक्तदानको महत्त्वबारे जनचेतना फैलाउनुका साथै स्तन क्यान्सर सचेतना महिनाको सन्देश समुदायसम्म पुर्याउने लक्ष्य राखेको थियो।
एनबीडीए अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेलले रक्तदानलाई महत्त्वपूर्ण मानवीय सेवाका रूपमा उल्लेख गर्दै एकपटकको रक्तदानले आवश्यक परेको अवस्थामा कसैको जीवन बचाउन सहयोग पुर्याउन सक्ने बताउनुभयो। उहाँले समुदायका सदस्यहरूलाई यस्ता मानवीय अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै रक्तदानको संस्कृतिलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको सक्रिय सहभागिता रहेको थियो। अभियानअन्तर्गत रक्तदान गर्नेहरूमा मनकास पिया, सञ्जन उप्रेती, रजनी अधिकारी, शंकर शर्मा, दिया अब्राहम, जागृत बन्जाडे, सागर वश्याल, सबिना वश्याल र प्रकाश पन्थी रहनुभएको थियो। त्यसैगरी प्रसन्न दाहालले प्लाज्मा दान गर्नुभएको थियो।
रक्तदान तथा प्लाज्मा दानमार्फत मानवीय सेवामा योगदान पुर्याउने सम्पूर्ण दाताहरूप्रति संस्थाले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
कार्यक्रमको संयोजन एनबीडीए अष्ट्रेलियाका कोषाध्यक्ष सबिना वश्याल तथा सदस्य रसना पञ्चाचोकेले गर्नुभएको थियो। अभियान सफल बनाउन सहयोग गर्ने स्वयंसेवक, आयोजक, सहभागी तथा सम्बन्धित सबैप्रति संस्थाले आभार व्यक्त गरेको छ।
संस्थाका सचिव प्रसन्न दाहालले ‘पिंक अक्टोबर’ अभियानले रक्तदान र स्वास्थ्यसम्बन्धी जनचेतनालाई एकसाथ जोड्दै समुदायमा सहयोग, सहकार्य, मानवता तथा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने सन्देश दिएको बताउनुभयो।
एनबीडीए अष्ट्रेलियाले आगामी दिनमा पनि रक्तदान तथा जनचेतनामूलक कार्यक्रममार्फत समुदायमा मानवीय सेवाको भावनालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
‘कसैको आशा बनौँ, रक्तदान गरौँ, जीवन बचाऔँ।’
