Newsसमाचार
23 Nov 2026अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी निर्वाचित
Tap the picture to see it full size.
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA) को सातौँ महाधिवेशनबाट राहुल रेग्मी अध्यक्षमा निर्वाचित हुनुभएको छ। काठमाडौँको धुम्बाराहीमा मंसिर ५ गते सम्पन्न महाधिवेशनले रेग्मीको अध्यक्षतामा सन् २०२६–२०२८ कार्यकालका लागि ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नेपाल चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनले नौ पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. मनिता राजकर्णिकार, उपाध्यक्षमा उत्तम अधिकारी, महासचिवमा तेज कटुवाल, सचिवमा रामराज ओली र मुक्तिराम पोख्रेल तथा कोषाध्यक्षमा सुनिलराज श्रेष्ठ चयन हुनुभएको छ। निवर्तमान अध्यक्षमा अजय सत्याल रहनुभएको छ।
सन् २०१४ मा स्थापना भएको संघले ‘जहाँ नेपाली, त्यहाँ रक्तदान’ भन्ने मूल नाराका साथ विश्वभर रहेका नेपाली रक्तदातालाई एउटै सञ्जालमा आबद्ध गर्दै रक्तदान अभियानलाई संस्थागत र प्रभावकारी बनाउँदै आएको छ। हालसम्म २१ देशमा संघका राष्ट्रिय सञ्जाल स्थापना भइसकेका छन्।
महाधिवेशनका अवसरमा २२५ पटक रक्तदान गरिसक्नुभएका संघका प्रमुख संरक्षक अजय सत्याललाई मानव जीवन रक्षामा पुर्याउनुभएको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले रक्तदान अभियानलाई प्रभावकारी बनाउन रक्तदाता परिचालनसँगै नेपालको समग्र रक्तसञ्चार प्रणालीको सुधार, रगतको उचित व्यवस्थापन तथा आवश्यक परेको समयमा सहज रूपमा रगत उपलब्ध गराउने प्रणाली विकासमा समेत संघले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित कार्यसमितिले आगामी छ महिनाभित्र थप चार देशमा राष्ट्रिय सञ्जाल विस्तार गर्ने योजना अघि सारेको छ। त्यसैगरी आपत्कालीन रक्त सहयोग, स्वयंसेवक सञ्जाल विकास, युवा सहभागिता वृद्धि, अन्तर्राष्ट्रिय सहकार्य र डिजिटल सञ्चार प्रणालीलाई प्राथमिकतामा राखेको जनाएको छ।
महाधिवेशनमा नेपाल रेडक्रस सोसाइटी, गैरआवासीय नेपाली संघ, स्टार हस्पिटल, ह्याम्स हस्पिटललगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नवनिर्वाचित कार्यसमिति (२०२६–२०२८)अध्यक्षमा राहुल रेग्मी (नेपाल)- निवर्तमान अध्यक्ष अजय सत्याल (अमेरिका),वरिष्ठ उपाध्यक्ष: डा. मनिता राजकर्णिकार (नेपाल), उपाध्यक्ष उत्तम अधिकारी (नेपाल),महासचिव: तेज कटुवाल (कतार),सचिव: रामराज ओली (न्युजिल्यान्ड),सचिव: मुक्तिराम पोख्रेल (अस्ट्रेलिया),कोषाध्यक्ष: सुनिलराज श्रेष्ठ (यूएई) यस्तै कार्यसमिति सदस्यहरूविवेक पाण्डेय (क्यानडा), विकास सुवेदी (घाना), कमान सिंह खत्री (सेशेल्स), वीरेन्द्र श्रेष्ठ (डेनमार्क), सन्तोष क्षेत्री (कतार), गुलाम नबी मन्सुर (कुवेत), भरत रिजाल (नाइजेरिया), रमेश कँडेल (युगान्डा), भीमराज लामा (माल्टा), दीपक राउत (यूएई), रासना पञ्चलान्छोके (अस्ट्रेलिया), अञ्जन मिश्र (पोर्चुगल), विमल नेपाल (अमेरिका) र महेशराज रेग्मी (भारत) लगायत रहनुभएको छ ।
