छविलाल भट्टराईको अध्यक्षतामा नेपाली रक्तदाता संघ कतारको नयाँ कार्यसमिति चयन

दोहा, कतार : नेपाली रक्तदाता संघ कतारको सातौं स्थापना दिवस तथा चौथो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । खुला र बन्द गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट छविलाल भट्टराईको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा क्रमशः मेनुका खतिवडा भण्डारी, सन्तोष पौडेल, देव लम्साल र घनश्याम अर्याल चयन भएका छन् । यस्तै, सचिवमा कल्याण थापा, सहसचिवमा कमल अर्याल, कोषाध्यक्षमा नीराजन गौतम र सह–कोषाध्यक्षमा राजकुमार तिमल्सिना चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा कल्पना घर्ती, श्रद्धा के.सी. कटुवाल, जीव नारायण पौडेल, लीलानाथ घिमिरे, गोरख चन्द ठकुरी, प्रेमबहादुर सुनार, जमुना मानन्धर श्रेष्ठ, श्यामकुमार डाँगी, विमल सुवेदी, रामकुमार कोइराला, सन्तोष भुजेल, नारायण कार्की, भवानीप्रसाद ओझा, नारायण खपाङ्गी मगर, अरुणकुमार यादव, जयशंकर कुमार शाह, महेशप्रसाद लामिछाने र महेन्द्रकुमार चालिसे रहेका छन् ।

संघका कार्यवाहक अध्यक्ष छविलाल भट्टराईको अध्यक्षता तथा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका सचिव तेज कटुवालको प्रमुख आतिथ्यमा सम्पन्न खुला सत्रमा कतारस्थित नेपाली नियोगकी द्वितीय सचिव स्मारिका सुवेदीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक तथा क्षेत्रीय संघ–संस्थाका अध्यक्ष, प्रतिनिधि, पत्रकार तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कटुवालसहित विभिन्न वक्ताहरूले नेपाली रक्तदाता संघ कतारले रक्तदान अभियान, जनचेतना अभिवृद्धि तथा मानवीय सेवामा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम शुक्रबार प्लाजा मलमा रहेको वेल्फेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको हो ।

सो अवसरमा रक्तदाता संघसँग सहकार्य गर्दै रक्तदान तथा विभिन्न सामाजिक अभियानमा योगदान पुर्‍याउने कतारस्थित संघ–संस्था, सहयोगी दाता, पत्रकार तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । साथै, कतारमा रहेर १० पटकभन्दा बढी रक्तदान गरेका रक्तदाताहरूलाई विशेष सम्मान, आजीवन सदस्यता वितरण तथा रमाइलो प्रश्नोत्तर कार्यक्रममार्फत उत्कृष्ट उत्तर दिने सहभागीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।