मिर्गौला पीडित बर्मालाई अन्तराष्ट्रिय नेपाली रक्तदाताद्वारा सहयोग
काठमाडौं, ६ फागुन । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं मुलपानी बस्ने १८ वर्षिया सुजन बर्मालाई अन्तराष्ट्रिय नेपाली रक्तदाताले आर्थिक सहयोग गरेको छ । विगत एक वर्षदेखि नियमित डायलासिस गराउँदै आएका बर्मालाई रक्तदाताले एक कार्यक्रम बीच आज आर्थिक सहयोग गरेको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा अन्तराष्ट्रिय नेपाली रक्तदाताका महासचिव निरञ्जन पौडेल, सचिव राहुल रेग्मी, कोषाध्यक्ष उत्तम अधिकारी, सदस्य खेटराज मैनाली, राजेन्द्र ओझा लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो । उनीहरुले फ्रान्सबाट प्रशान्त उप्रेतीले पठाएको सहयोग रकम एक लाख सुजनका बुबा दिलबहादुर सार्की बर्मासमेतको उपस्थितिमा हस्तान्तरण गरिएको सचिव राहुल रेग्मीले जानकारी दिएका छन् । कार्यक्रममा अन्तराष्ट्रिय नेपाली रक्तदाता मार्फत फ्रान्सबाट प्रशान्त उप्रेतीले गरेको सहयोगको लागि उनलाई धन्यवाद व्यक्त समेत गरिएको थियो । सुजन हाल सुप्रिम कलेज सानोठिमी भक्तपुरमा कक्षा १२ मा अध्ययनरत छन् । पिसाव संक्रमण भई अप्रेशन गर्दा उनको दुबै मृगौला फेल भएको र आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न ठूलो रकम आवश्यकता परेको भन्दै पीडित सुजनले सहयोगको लागि सम्पूर्णमा अनुरोध गरेका छन् । हाल उनको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।